गोरखाका हिमाल पारिका सात गाबिसहरु



यदुप्रसाद अधिकारी/ ऐतिहासिक महत्व बोकेको गोरखा जिल्ला प्राचीन कालमा लिच्छवि राजाको अधीनमा थियो । राजा मुकुन्द सेनले गोरखालाई आफ्नो अधीनमा राखेपनि उनका पुत्रहरुले गोरखालाई आफ्नो अधीनमा राख्न सकेनन् । चौबीसे राज्यको पालामा गोरखाका लिगलिगकोट, सिरानचोक कोट, माझकोट, बारपाक कोट, खोर्लाकोट, काम्ला कोट, मान्बु कोट, बुङ्कोट, मनकामना कोट आदि ३६ कोटमा मगर, घले, गुरुङ्ग, क्षेत्री आदि राजा थिए । द्रब्य शाहले लिगलिगकोटलाई
आफ्नो अधीनमा लिएपछि बिस्तारै बिस्तारै गोरखालाई पनि आफ्नो अधीनमा लिन शुरु गरे । माझकोटका मानसिङ खड्का मगरसँग सातदिन युद्ध गर्दा पराजित भएपनि पुनः पन्ध्र दिनसम्म युद्ध गरी द्रब्य शाहले नै उनलाई पराजित गरे । द्रब्य शाहबाट एकताको अभियान शुरु भएको नेपाललाई राम शाह हुँदै पृथ्बीनारायण शाहले नेपालको ऐकीकरणलाई सफल बनाए ।काठमान्डौ राजधानी भएपछि बिकासको दृष्टिकोण र प्रशासनिक दृष्टिकोणबाट बिभिन्न क्षेत्रमा राणाहरुले देशलाई बिभाजन गरे । गोरखालाई पश्चिम दुई नम्बर भनेर चिनिन्थ्यो । गोरखा लार्के र तल्लो गोरखामा बिभाजित थियो । धार्चेको लेकमा दुईवटा ढुङ्गाका सीमाहरु गाडेर सीमारेखा कोरिएको अध्याबधि पनि छ । लार्के गोरखाको सदरमुकाम बिही गाबिसमा थियो । अध्याबधि पनि लार्के अदालत भनेर गोरखा जिल्ला अदालतमा चर्चित छ । २००७ सालपछि देशमा प्रजातन्त्र आयो । २०१५ सालमा प्रजातान्त्रिक निर्वाचन भयो । २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्त गरी पञ्चायती ब्यबस्था लागू गरियो । २०१८ सालमा देशलाई चार बिकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लामा बिभाजन गरियो । गोरखा जिल्ला पनि बिस्तारै बिस्तारै बिकासको गतिमा अगाडि बढ्दै गयो । २०४६ सालपछि यस जिल्लालाई तीन निर्वाचन क्षेत्र र १३ इलाकामा बिभाजन गरिएको छ ।यस जिल्लाको १२ नम्बर इलाका र १३ नम्बर इलाकालाई दुर्गम क्षेत्र मानिन्छ । १३ नम्बर इलाकालाई हिमाल पारिको गाबिस र भोटखोला भनेर बिशेष रुपमा चिनिन्छ । यसलाई १८ सय खोला पनि भनिन्छ । राणा कालमा १८ सय तिरो उठ्ने भएर १८ सय खोला भनिएको हो । यस इलाकामा सात गाबिस सिर्दिवास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाँउ पर्दछन् । सिर्दिबास गाबिस यस इलाकाको केन्द्र हो । यहाँ प्रशासनिक उपकेन्द्र र अन्य कार्यालयहरु पनि छन् । यहाँ जगतमा पहिलेदेखि नै कर लिदै आएको छ । यो भोटखोलाको ढोका हो । यस क्षेत्रमा पहिले बोन’ धर्म मान्ने बासिन्दाहरु बस्थे भने हाल तिनीहरु नै बुद्ध धर्म मान्ने गर्छन् । सिर्दिवासमा केही मात्रामा हिन्दू धर्म मान्ने र बहुसंख्यक रुपमा बुद्ध धर्म मान्दछन् । बुद्ध धर्माबलम्बीहरुले दशैं, तिहार, औसी, पूर्णिमा, ल्होसार आदि पर्बमा गुम्बामा बिशेष रुपले बत्ती बाली बुद्धको पूजा गर्छन । मानिसको मृत्यु भएमा पनि मृतकको घरमा र गुम्बामा बत्ती बाल्ने गर्दछन् । यस क्षेत्रलाई बिकट मानिन्छ । सिर्दिबासमा भैसी पाल्ने चलन थिएन । पहिरो जान्छ भनेर रुढीबाढी धारणा थियो । हाल गपमा भैंसी पाल्न थालिएको छ । अन्यत्र चौरी, याक, झोप्पा, खच्चड, गाई, भेडाबाख्रा र च्याङ्गा पालिन्छ । यस क्षेत्रका मानिसहरुको भेषभूषा समान देखिन्छ । जाडो हुनाले बाक्लो कपडा लगाइन्छ । छेकम्पारमा न्यौपाने, प्रोकमा ठकुरी र कतै कतै बिश्वकर्माको बसोबास भएपनि यिनीहरुले बुद्ध धर्म मानेका छन् । मानिस जन्मिएपछि लामाको सल्लाह अनुसार न्वारन गरिन्छ । भात पनि खुवाईन्छ । सुत्केरी बार्दैनन् । लामाले केटाहरुलाई छेवरको सट्टा जन्तर दिन्छन् । बिवाहमा ठेकी, पुङ् लगाएर केटी माग्ने चलन छ । प्राचीन कालमा केटीको संख्या कम र चाँदीको कल्ली दिन नसक्ने एबं सम्पति बिभाजन गर्नुपर्ने कारणले गर्दा बहुपति प्रथा चलन थियो । हाल यो प्रथा हटेको छ । केटीको आमालाई दुलाहा पक्षले सम्पति दिने चलन छ । केटाले र केटीले घ्यूको सिदुर (हेर्का) हालेपछि बिबाह पक्का हुन्छ । छेकम्पार तिरभने ठेकी पुङ् लगाएको छ महिना भित्रमा केटी काम गर्न गएको ठाँउमा हेर्का हाल्ने चलन छ भनी छिरिङ्ग फून्जो लामाले बताएका छन् । छोडपत्र गर्न परेमा लामा गाँउका भद्र भलाद्मी बसी छोडपत्र गर्दछन् । केटाले छोड्न चाहेमा १७ रुपैँया र केटीले छोड्न चाहेमा १६ रुपैँया रित बुझाउनु पर्दछ । मानिस मरेमा लामाले मृतकको बर्ग अनुसार जलाउने, गाड्ने र गिद्धलाई खुवाउने निर्णय गर्छन् । नारी पुरुष दुवै मलामी जान्छन् । लासलाई नुहाएर धुप चढाइन्छ । लामाले शंख जस्तो नलीहाड बजाएपछि गिद्धलाई खुवाउनु पर्ने भएमा आफूले चाहेको जति गिद्ध बोलाउछन् । नक्कली लामा भएमा उसलाई काग लामा भनिन्छ । पुनः उसले मन्त्र गरेर लासको चोक्टा, चोक्टा गिद्धलाई खुवाउनु पर्दछ । महिलाहरुले रक्सी र खाजा बाटोमा खुवाउछन् । मृतकको नाउँमा तत्कालै वा ४५ दिनभित्र अथवा एकबर्ष भित्र अर्घुं गर्दछन् । अर्घुं एकराते, तीनराते, पाँच राते, सात रातेसम्म आफ्नो क्षमता अनुसार गुम्बामा गर्दछन् । एकबर्षसम्म कुनै शुभ कार्य गदैनन् । गीत पनि गाउँदैनन् । यहाँका बासिन्दाले पुनः जन्ममा बिश्वास गर्छन् । लामाले आफ्नो पुरानो कुृरा भनेर प्रमाणित गरेर अबतारी हुन्छ भनेर बताउछन् । यिनीहरु १४ औं अबतारी दलाई लामाका अनुयायी हुन् । यिनीहरुले भोटिया भाषा बोल्दछन् । यिनीहरुलाई भोटिया लामा भन्दछन् । लामामा पनि शाक्यपा, घेलुक, कक्यिुप, निमा, हुन्छन् । घेलुक लामा गुम्बामा बस्ने सन्यासी हो । गुम्बामा माइली छोरी (आनी) र माइलो छोरा (ढावा) बस्छन् भने अरु इच्छुक ब्यक्ति पनि गुम्बामा बस्न सक्दछन् । जाडो हुनाले धान खेती हुदैन । मकै कोदो, गहुँ, आलु, फापर वा करु आदि खेती हुन्छ । बिही गाबिस उर्बर भूमि हो । यहाँ मकै प्रचुर मात्रामा हुन्छ । प्रोक समथर भूमि हो । सामागाँउ पनि समथर भूमि नै मानिन्छ । यस क्षेत्रलाई मनासलु क्षेत्र भनिन्छ । यहाँ प्राकृतिक जैबिक स्रोत र सम्पदाको बिकास गर्ने अबधारणा राखिएको छ । चुम्चेत र छेकम्पारलाई स्यार भोट वा चुम क्षेत्र मानिन्छ । चुम भ्याली यही छ । छेकम्पारलाई शान्ति क्षेत्र मानिन्छ । प्राणीको हिम्सा गरिदैन । यहाँ प्रसिद्ध राजन गुम्बा, (आनी बस्ने) मु गुम्बा, ढावा बस्ने बिकट गुम्बा हुन् । १३० बर्ग किमी ओगटेको यस क्षेत्रलाई किमोलुङ वा शान्ति क्षेत्र मानिन्छ । कुताङ भोटलाई (पश्चिम) वा नुब्री क्षेत्र भनिन्छ । यी दुबैको केन्द्र बिही गाबिस पर्दछ । यहाँ एकासी गुम्बा, छोर्तेङ, कानी र मृतकको नाउँमा बनाएका माने पनि छन् । यात्रुले बाटो काट्दा चिन्हको रुपमा सानो ढुङ्गाको माने बनाउने चलन छ । जडीबुटी पशुपक्षीं, प्रशस्त पाइने यस क्षेत्र मनासलु हिमालको फेदमा पर्दछ । श्रृङ्गी हिमाल, गणेश हिमाल बौद्ध हिमाल लगायत बिभिन्न हिमालले घेरीएको यस क्षेत्र पर्यटकीय रुपबाट उत्कृष्ठ रहेको कुरा दक्षित एसियाका प्रथम पर्थप्रर्दशक सुनार गुरुङ्ग र पर्यटन क्षेत्रमा कार्यरत रामहरि देबकोटाले बताएका छन् । नेपालको सातौं र बिश्वको आठौं उच्च मनासलु हिमालको फेदमा बीरेन्द्र ताल छ । यहाँ काल ताल, गुरसी छो ताल, छोसाङ्ग ताल लगायत धेरै तालहरु छन् । बिकट मार्ग भएकाले यात्रा गर्न कठिन छ । समग्र बिकास केन्द्र र केयर नेपालले पुल बनाइदिएको छ । समग्र बिकास केन्द्रले घोडेको बाटो र बिभिन्न ठाँउमा स्याउ र ओखर खेती अगाडि बढाएको छ । प्राचीन कालमा नुन लिन सामागाउ जान पथ्र्यो । बुढीगण्डकीको किनार रुवीनाला भङ्ज्याङ्ग, न्याक हुँदै जगतबाट जानुपर्दथ्यो । रुबीनालाबाट प्राकृतिक रुपबाट ढुङ्गाको पुल बनेको ढुम्रेखोला हुँदै गण्डकी पारिपारी माथि सामागाँउ जाने बाटो पनि थियो । यस ठाँउबाट धेरै जनधनको क्षति भएर सोझो बाटो निर्माण गरिएको छ । सात ठाँउमा बुढीगण्डकीको पुल तरेर यस बिकट क्षेत्रमा पुग्न सकिन्छ भनेर भरत श्रेष्ठ बताउँछन् । एक माबि, एक निमाबि र चौबिस जति प्राबि छन् । बौद्ध शिक्षा प्रचलित छ । बिकट, पर्यटकीय, जडिबुटीको केन्द्र, बौद्ध धर्माबलम्बीको बासस्थान यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र पर्यटकीय दृष्टिले बिकास गर्न सकेमा दुर्गम बासिन्दाको मुहार हँसिलो हुने थियो भनी बन्न सकिन्छ ।

Source : Daraundi Daily