गुरुङ जातिको उत्पति कहाँबाट भयो र किन मनाउँछन् गुरुङहरु तमु ल्होसार ?

नेपालमा रहेका विभिन्न  जनजातिहरु मध्ये आज गुरुङ जातिको नयाँ वर्ष हो । आज उनीहरु बादर वर्ग अर्थात प्र–ल्होसार मनाउँदैछन् । यही सन्दर्भमा तमु अर्थात गुरुङ जातिको बारेमा संक्षिप्त चिनारी र उनीहरुले मान्ने नयाँ वर्षको बारेमा छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ ।

गुरुङको बसोबासः

गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरु नेपालको पूर्वी पहाडका धेरै ठाउँहरुमा समेत छरिएका छन् । उनीहरु थोरै सङ्ख्यामा सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ । गुरुङहरु पूर्वतर्फ तामाङ, दक्षिण तर्फ खस, पश्चिम पट्टी मगर उत्तरतर्फ थकालीहरुको बिचमा बसोबास गरेर बसेका छन् । तिनै क्षेत्रमा उनीहरुले आफ्नो सभ्यताको विकास गरे । विभिन्न धर्म, संस्कृति, भाषाको विकास गरि आजसम्म अस्तित्वमा रहन सफल भए ।

गुरुङको उत्पतिः

केही इतिहासविद्हरुका अनुसार, गुरुङहरु हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरु मङ्गोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरु मध्ये चीनको ह्वाङ्हो नदीबाट नै गुरुङ जातिको पनि
उत्पति भएको मान्न सकिन्छ ।

ह्वाङ्वो नदीमा उत्पति भएपछि हजारौं वर्षपछि उक्त स्थानबाट गुरुङहरु तिब्बत तर्फ आएको देखिन्छ । कालान्तरमा उनीहरु तिब्बतको भूमिहुँदै मनाङतिर आईपुगे ।

इतिहास विद्हरुका अनुसार तमुहरु सन् ५०० तिर शिकार खेल्दै अन्नपूर्ण हिमश्रृंखला पार गरी दक्षिणी भेकमा आएका थिए ।
इतिहास विद्हरुका अनुसार तमुहरु सन् ५०० तिर शिकार खेल्दै अन्नपूर्ण हिमश्रृंखला पार गरी दक्षिणी भेकमा आएका थिए । तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहाँ केही अन्नको बीउ छरेर फर्के । दोस्रो पटक आउँदा त्यहा उनीहरूले सप्रेको बाली पाए । तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली बस्न थाले । त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि यता बसाई सर्दै आए ।

तमुहरूको पौराणिक कथा अनुसार बागमती अञ्चलमा तामाङहरूको बसोबास शुरु हुने बेला तमुहरूले पनि मुस्ताङमा बसोबास गरेको बुझिन्छ । यी दुई समूह आजभन्दा झण्डै तीन हजार वर्ष पहिले तिब्बतमा छँदै छुटेको हुनु सक्छ भनेर इतिहास विदहरुले भनेका छन् । तमुहरू शिकार खेल्न जंगली जनावरहरू पछ्याउदै लामो दूरीसम्म पुग्ने गर्दथे । अनि नया ठाउहरू राम्रो लागेमा बसाई सर्दथे ।

त्यही क्रममा उनीहरुले छुट्टै सभ्यताको विकास गरे । आफ्नो छुट्टै धार्मिक ग्रन्थको विकास गरे । अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्परा आदिको विकास गरे ।



धार्मिक ग्रन्थः
गुरुङहरुको छुट्टै धार्मिक ग्रन्थ छ । उनीहरु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित पाइन्छ । तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ । त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ ।

तमु शास्त्रले पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहाँ पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउँछ । तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन् ।



जीवन शैलीः
तमु र गुरुङ एकै हो । नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ । स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरूलाई बाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन् । त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन् ।

सामाजिक व्यवस्थाः
तमुजातिमा मामा चेला फुपु चेला बीच बिवाह चल्छ । त्यसैले नेपालको कानूनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी बिवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ । जीव वैज्ञानिक (अनुवांशिक) दृष्टिकोणले उपयुक्त नभएकोले अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ । खेगी चोँगी र पैंडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगं हुन् । खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी । सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद र्पयो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ । कुन चाहिं काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ । कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ । तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान र्पुयाएको छ ।

गुरुङहरु ब्रिटिस सेनामा धेरै छन् । उनीहरुले निकै नाम र विश्वास समेत कमाएका छन् । उनीहरुको जिविकोपार्जनको एउटा मुख्य स्रोत मध्ये सैनिक सेवापनि हो ।



चाड पर्बः
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवाज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन् । तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस अन्तरगत, तमुहरूको मुल चाड पर्बहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन् ।

तमु ल्होसार
ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ । सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता)को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो । ड्रिगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासू क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्य रूपले निम्ताएको थियो । पछि सम्थव ङोन्पो नामक वोन्पो विनले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताको रूप दिए जसलाई क्यार वोन भनियो । त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको सङ्केत गर्दछ । १ प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग(भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी,मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरुको महान् चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।
तमु पात्रो निम्नानुसार रहेको छ :
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।



१. मुसा वर्ग (च्यु–ल्हो)
२. गाई वर्ग (ल्वोँ–ल्हो)
३. बाघ वर्ग (तो–ल्हो)
४. बिरालो वर्ग (हि–ल्हो)
५. गिद्द वर्ग (मुप्री–ल्हो)
६. सर्प वर्ग (सप्री–ल्हो)
७. घोडा वर्ग (त–ल्हो)
८.भेंडा वर्ग (ल्हु–ल्हो)
९. बादर वर्ग (प्र–ल्हो)
१०. चरा वर्ग (च्हया–ल्हो)
११. कुकुर वर्ग (खि–ल्हो)
१२. मृग वर्ग (फो–ल्हो)

बाजाहरूः
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन् । कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन् ।

जनसंख्याः
बि.स. २०६८ सालको जनगणना अनुसार गुरुङ जातिको जनसंख्या नेपालको जनसंख्याको १.९७ प्रतिशत अर्थात ५ लाख २२ हजार ६ सय ४१ छ । प्रतिशतका आधारमा मनाङ जिल्लामा गुरुङ बढी छन् । मनाङमा गुरुङ ५२.४ प्रतिशत छन् । तर, उक्त जिल्लामा गुरुङको संख्या मात्र ३ हजार ४ सय २६ मात्र छ । २०६८ को जन गणनामा ०.४२ प्रतिशत घटेका छन् ।



हाल व्यवस्थापिका संसद सदस्यका रुपमा गुरुङबाट जम्मा १४ जना मात्र रहेका छन् । नेपालका सबै सिमान्तकृत जनजातिहरुले पहिचानको लागि लडिरहे जस्तै गुरुङहरुपनि आज आफ्नो सभ्यताको रक्षाका लागि पहिचानको आन्दोलनमा जुटिरहेका छन् ।

स्रोतः सबै जातको फूलबारी, डोरबहादुर विष्ट
          विभिन्न इन्टरनेट साइटहरु